चैत्र७,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका-१ स्थित मोरंगे चिसापानीका आगलागी पीडित आइतेसिं जिम्वालाई राष्ट्रिय स्वतन्त्र पार्टी,मकवानपुरले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ।
रास्वपा मकवानपुरका सभापति भरत पराजुली, क्षेत्र नम्बर १का सभापति टाकाराज थापा (सुरेश),जिल्ला सहसचिव शान्ति थापा , बकैया गाउँपालिकाका पार्टी सभापति अम्मर दङ्गाल र बकैया वडा नम्बर १का सभापति क्षेत्रबहादुर मोक्तान सहितको टिम मिलेर जिम्बालाई तत्काल आवश्यक पर्ने सिरक,डस्ना,भाँडाकुँडा,दाल,चामल लगयतका सामग्री सहयोग गरेका हुन्।

रास्वपाको टिमले विहिवार जिम्बाको घरमै पुगि खाद्यान्न,लत्ताकपडा र भाँडावर्तन सहयोग गरेको सभापति पराजुलीले बताए।
जिम्बाको चैत्र ५ गते मंगलवार दिउँसो जंगलमा लागेको डंढेलोबाट आगो सल्किई घर र गोठ जलेर नष्ट भएको थियो।
आगलागीबाट आफ्नो ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिम्बाले बताएका छन्।




