चैत्र१९,हेटौंडा। झापाको राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा-५स्थित पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण गर्ने भएको छ ।

झापाको कन्काई-६ मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाहरुको सहयोगार्थ पुराण संचालन गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ।

पुराणमा प्रसिद्ध भागवत कथा वाचिका राधिका दासीले कथा सुनाउने छिन्।

हाल झापाको कन्काईमा १८ कोठे आश्रम तथा सत्संग भवन निर्माणकार्य जारी रहेकोले महापुराणबाट संकलित रकम उक्त भवन निर्माणार्थ सहयोग पुग्ने पनि अपेक्षा गरिएको दासीले बताईन्।

राधिका फाउन्डेसनले आफ्नै भवनको अभावमा कन्काईमा घर भाडामा लिइ १५ जना र काठमाडौको विभिन्न विद्यालयमा ३५ गरि ५० जना बालबालिकालाई आवासीयरुपमा पठनपाठन गराईरहेको जानकारी पनि दिएको छ ।

बैशाख १४ गते हेटौंडाका ९० वर्ष कटेका वृद्धवृद्धा तथा समाजमा धार्मिक तथा सांस्कृतिक जागरण गर्दै आएका आमा समूहका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको दासीले बताईन्।

हेटौंडाका धेरै व्यक्तिहरुले यहिं नै पुराण लगाउन आग्रह गरेपछि तीन महिनाअघि तयारी सुरु गरेको उनको भनाई छ।

कार्यक्रमका लागि हेटौंडा-५ का वडा अध्यक्ष सुशील घिमिरे संयोजक बनेका छन् । वैशाख २ गते राप्तीस्थित गोरक्षेश्वरबाट कलशयात्रा गरी पुराण सुरु गरिने बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय