चैत्र२२,चन्द्रपुर । रौतहटको वृन्दावन नगरपालिका-१ बलेरीमा बँदेल मार्न राखिएको बिद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएपछि शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै महिलाको शव बिहीवार अपरान्ह बरामद गरी संलग्न ३ जना लाई पक्राउ गरेको जनाएको छ।
गाउँकै केही मानिसले जंगली बँदेल मार्न मकैबारीमा थापेको जेआई विद्युतीय तारको पासोमा करेन्ट लागेर स्थानीय रूपनारायण राउतकी श्रीमती ५५ वर्षीया देवी पटेलको एकसाता अघि मृत्यु भएको अनुमान गरिएको छ।
करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरुले घटना लुकाउन नजिकै जङ्गलमा खाल्डो खनी शव पुरेका थिए।
घटना पछी महिला बेपत्ता भएको पीडित परिवारमार्फत जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भएपनि प्रहरीमा १९ गते जानकारी आएको थियो। अनुसन्धानको क्रममा महिलाको शव बिहीवार अपरान्ह जंगलमा गाडिएको अवस्थामा बरामद भएको हो।
घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।



