चैत्र२७,निजगढ।रजश्वला हुँदा महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड खरिदमा अनियमितता गर्ने बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल सहित ५ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।

अख्तियारले वर्णवाल सहित, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ र प्याड बिक्रीकर्ता सागर देवी फर्मा हेटौंडाका प्रोप्राइटर विमलेश साहउपर ५१ लाख रुपैयाँ बिगो रकम र कैद जरिवाना माग गर्दै आरोप पत्र दायर गरेको हो।
उपमहानगर कार्यालयले आ.व. २०७७।०७८ र २०७८।०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।
एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूले उपमहानगरका कर्मचारीहरु सँगको आपसी मिलेमतोमा बोलपत्र पेश गरी प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएको थियो।
तर सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकाले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँभन्दा बढी भुक्तानी गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनीहरूविरुद्ध उक्त रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको छ।




