चैत्र२८,हेटौंडा। मकवानपुरमा बुधवार राती बस दूर्घटनामा घाईते भई सामान्य उपचार पछि डिस्चार्ज भएका एकजना विहिवार विहान मृत फेला परेका छन्।
हेटौंडा–१८ हर्नामाडीका २९ वर्षीय विमल ढुंगाना झुन्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
डिएसपी अर्यालका अनुसार उनी टाई र खादाको पासो बनाई आफू सुतेकै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। पाईन्टमा लगाईएको पेटि भने चुँडिएको अवस्थामा फेला परेको थियो।
भीमफेदी गाउँपालिका अन्तर्गतको कृषि तथा पशु शाखाको भ्रमण टोलि बोकेको बस दूर्घटना हुँदा ढुंगाना सामान्य घाईते भएका थिए।उनी गाउँपालिकाको पशु प्राविधिकको रुपमा कार्यरत थिए।
गएराती साँढे ९ बजे हेटौंडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-३चिसापानी बजारमा उक्त भ्रमण टोलिको रिजर्भ बस दुर्घटनामा परेको थियो।
ढुंगाना हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएर हेटौंडा-११नवलपुरस्थित उदय हटुवालको घरमा बास बसेका थिए।हटुवाल भीमफेदी-९ का वडा सदस्य हुन्।
उनले बुधबार राती दुर्घटनामा घाइते भई उपचार पछि डिस्चार्ज भएका ढुंगानासहित केहीलाई हेटौंडा–११, नवलपुरस्थित आफ्नै घरमा लगेर राखेका थिए।
भ्रमणका लागि लगिएको बस ढुंगानाको स्वामित्वमा रहेकाले दुर्घटना भएसँगै उनी तनावमा देखिएका बताईएको छ।
दुर्घटनामा ढुंगानासहित ३१ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताएका छन्।



