बैशाख१९,हेटौंडा। हेटौंडाबाट चोरी भएको एउटा अटो प्रहरीले चितवनमा फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
प्रहरीले हेटौंडा-१० स्थित आफ्नै घर अगाडी पार्किङ गरिराखेको बमबहादुर न्यौपानेको अटो आठ महिनापछी चितवनको भरतपुर महानगरपालिका- ११ सल्लेरी टोलमा फेला पारेको हो।

न्यौपानेलाई शुक्रवार जिल्ला प्रहरी कार्यालयमा बोलाई अटोको सनाखत गरि यकिन भएपछि हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार न्यौपानेको नाउँमा दर्ता कायम रहेको च्याचिस नम्बर MD2A25BY3JWL10747 र ईन्जिन नम्वर A2YWTL33623 भएको ना. २ ह १३७१ नम्बरको अटो गत भदौ १४ गते रातिको समयमा घर अगाडी बाटै हराएको थियो।
उक्त अटो खोजतलासको क्रममा फेला पारेको र अटो चोरीमा संलग्न २ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
अटो चोरीमा संलग्न नवलपरासिको कुलिन्टार गाउँपालिका-१का ३० वर्षिय गोपाल श्रेष्ठ र चितवनको भरतपुर-११ का ३२ वर्षिय शंकर ढकाललाई पक्राउ गरिएको उपरीक्षक अर्यालले बताए।
उनिहरुमाथी चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा अनुसन्धान भैरहेको अर्यालको भनाई छ।



