बैशाख२०,हेटौंडा।हेटौंडामा गुड्दागुड्दै खाल्डोमा डुबेको एउटा गाडी २६ घण्टा बित्दासमेत फेला पर्न सकेको छैन।
शुक्रवार दिउँसो १२ बजेर ५० मिनेटको समयमा हेटौंडा-१७ गैरीगाउँस्थित भित्री कच्ची सडकखण्डमा ना४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी बोरिङको लागी खनिएको पानी भएको खाल्डोमा चिप्लिएर डुबेको थियो।

स्थानीय हरि राईले बोरिङको लागि खनेको उक्त खाल्डोमा राई आफैले चलाएर चुच्चेखोला तर्फ जाँदै गर्दा डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
बोलेरो चालक राई भने सकुशल रहेका छन्। माछा बोक्ने कार्यमा प्रयोग भैरहेको उक्त गाडी डुबेको बेला भने खाली रहेको थियो।
उपरीक्षक अर्यालका अनुसार २ वटा मोटर पम्प प्रयोग गरि पानी बाहिर फाल्दा पानीको सतह घटेको भएपनि सवारी साधन हालसम्म देखिएको छैन।
खाल्डोको दायाँबायाँबाट माटो झरिरहेकोले खाल्डोको आयतन झन् ठुलो हुदै गएको र गाडीको खोजीकार्य जारी रहेको अर्यालले बताए।



