बैशाख२४,निजगढ। बाराको निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको दोस्रो खेलमा वडा नम्बर ८,विजयी भएको छ ।
८ नम्बरले वडा नम्बर ६ लाई ०-१ गोल अन्तरले हराएको हो। ८ नम्बरका सुजल माझीको एक मात्रै गोल नै निर्णायक बन्यो। माझिले खेलको दोस्रो हाफको अन्त्य तिर गोल गरेका थिए।
खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका प्रसिस तिमल्सिना घोषित भए।
उनलाई वडा नम्बर ८ का वडाअध्यक्ष स्वर्ण लामा,६ का अध्यक्ष घनश्याम तिमल्सिना,८ का वडा सदस्य शालिकराम ढुंगाना र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले एक हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरेका थिए।
प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा निजगढ-४ विजयी भएको छ। ४ नम्बरले १० नम्बर वडालाई सडन डेथमा हराएको हो।
निर्धारित समयमा कुनै पक्षबाट गोल नभएपछी खेल टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा पनि बराबरी भएपछी सडन डेथबाट निर्णय लिईएको थियो।
भोलि विहिवार पनि दुई खेल संचालन हुनेछ।पहिलो खेल वडा नम्बर १ र १३ तथा दोश्रो खेल वडा नम्बर २ र ७ का बिच हुने आयोजकले जनाएको छ।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते हुने तय गरिएको छ।



