बैशाख २५,निजगढ। बाराको निजगढ नगरपालिका अन्तर्गत निजगढ-सिंगौल सडकखण्डमा मोटरसाइकल दूर्घटना हुँदा १जना सख्त घाईते भएका छन्। अर्का एकजनाको अवस्था मध्यम रहेको छ।
निजगढतर्फबाट सिंगौलतर्फ आउँदै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकल बुधवार राती अन्दाजी ९ बजे सडकखण्डको सुकेपोखरी नजिकै दूर्घटना हुँदा उनिहरु घाईते भएका हुन्।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडी पट्टिको नम्बर प्लेट नभएको र अगाडी पट्टिको नम्बर प्लेटमा पनि एउटा अंक मेटिएको छ।
घाईते हुनेमा मकवानपुरको बकैया गाउँपालिका-२ दमैचौरका अन्दाजी २५ वर्षिय नरेश जिम्बा र मोटरसाइकल पछाडी सवार सोही ठाउँका अन्दाजी २२ वर्षिय सोमबहादुर गोले छन्।
गोलेको मध्यम अवस्थामा निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचार भैरहेको र जिम्बालाई त्यँहाबाट रेफर गरि वीरगंजस्थित मेडिसिटी वयोधा अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
निरीक्षक लामिछानेका अनुसार जिम्बाको गम्भीर अवस्थामा सघन उपचार कक्षमा उपचार भैरहेको छ। उनको टाउको र आँखामा गम्भीर चोट लागेको छ।



