बैशाख२६,निजगढ। वडा नम्बर१,सिंगौल बाराको निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विहिवार भएको पहिलो क्वार्टरफाईनल खेलमा वडा नम्बर १३ लाई हराउँदै वडा नम्बर १ सेमिफाइनल प्रवेश गरेको हो।
टिमको जितमा जर्सी नम्बर १६ का प्रकाश मोक्तानले एक गोल गरे।दोश्रो हाफको पहिलो मिनेटमा मोक्तानले गरेको गोल नै निर्णायक बन्यो।
खेलको ‘म्यान अफ द म्याच’ घोषित मोक्तानलाई वडा नम्बर १ का अध्यक्ष मंगले लोप्चन,१३ का अध्यक्ष सूर्य घलान,स्व.विकलकी आमा कमला रेग्मि तथा अग्रज पत्रकार गोकुल घोरसाईनेले नगद तथा ट्रफी प्रदान गरे।
प्रतियोगिता अन्तर्गत विहिवार नै भएको दोश्रो खेलमा भने वडा नम्बर २,सिंगौल पराजित भयो। सिंगौललाई वडा नम्बर ७ ले टाईब्रेकरमा पराजित गरेको हो।
शुक्रवार(आज) पनि दुईवटा क्वार्टर्फाईनल खेल संचालन हुनेछ।पहिलो खेल वडा नम्बर ३ र ४ तथा दोश्रो खेल वडा नम्बर ८ र ११ का बिच हुने आयोजकले जनाएको छ।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते हुने तय गरिएको छ।



