जेठ७,हेटौंडा। हेटौंडामा ठूलो पुरस्कार राशीको ई-स्पोर्टस् अन्तर्गतको ‘फ्री फायर खेल’प्रतियोगिता हुने भएको छ।
हेटौंडाबाट संचालित नेश्नल गोल्ड टेलिभिजनको आयोजनामा ‘नेश्नल गोल्ड कप फ्री फायर’ खेल प्रतियोगिता हुन लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।

हेटौडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन र वागमती प्रदेश खेलकुद विकास परिषदको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताको नारा “खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” राखिएको छ।
विहिवार देखि औपचारिक रूपमा सुरु हुने प्रतियोगिताको फाईनल खेल जेष्ठ १७ गते गरिने आयोजकले जनाएको छ।
१ लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिता नेपालकै ठूला ई-स्पोर्ट्स प्रतियोगितामध्ये एक हुने आयोजकको दाबी छ।
मकवानपुरमा भने ठूलो पुरस्कार राशि सहितको यस्तो प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो।
प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाहरूले गुगल फर्ममार्फत निशुल्क दर्ता गरेका छन्।
सुरुका चरणका खेलहरू अनलाइन माध्यमबाट हुने भएपनि क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल खेलहरू भने हेटौंडाको हिमालयन दरबार पार्टी प्यालेसमा आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा एक पटकमा १२ टोलीका ४८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। नयाँ जेनेरेशनमा लोकप्रिय रहेको खेल फ्री फायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नेशनल गोल्ड टेलिभिजनको आधिकारिक युट्युब च्यानल, फेसबुक पेज तथा टेलिभिजनमार्फत गरिने नेशनल गोल्ड टेलिभिजनका अध्यक्ष उज्वल चौलागाँईले जानकारी दिए।
प्रतियोगितालार्ई हेटौडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सुर्यान्स र ई स्पोर्ट कन्सल्टेन्सीले सह प्रायोजन गरेका छन् ।




