असार१७,हेटौंडा। हेटौंडामा लहरी पल्टिँदा चालकको मृत्यु भएको छ।
भारतको बनारसबाट रिद्दिसिद्दी सिमेन्ट फ्याक्ट्रीका लागी कोईला लिएर आउँदै गरेको युपि६१ एटि ०९६२ नम्वरको लहरी हेटौंडा-१५ रातोमाटेस्थित चार्जिङ पोइन्ट नजिकै पल्टिँदा भारतको गाजिपुरको पुरैनिया बस्ने लहरी चालक अन्दाजी ४५ वर्षिय महेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलवार विहान साँढे २ बजे लहरी ब्रेकफेल भई बाटोको दाहिने किनारमा उत्तानो परि पल्टिएको थियो।
लहरी भित्र च्यापिएका चालकलाई प्रहरीले विहान पौने ५ बजे तिर २ ओटा क्रेनको मद्दतले अचेत अवस्थामा उद्वार गरि उपचारार्थ हेटौंडा अस्पताल पठाएकोमा करिब पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्।
गाजिपुरकै अन्दाजी २६ वर्षिय सहचालक मनोज यादवको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।शव अस्पतालको शव गृहमा राखीएको छ।
पल्टिएको लहरीलाई घटनास्थलबाट साईड लगाई राखीएको प्रहरीले जनाएको छ।



