असार१७,हेटौंडा।युवा तथा खेलकुद मन्त्रालयले १० जना खेल पत्रकारहरुलाई नगद राशीले पुरस्कृत गरेको छ।
सोमवार राजधानीमा आयोजित विशेष समारोहका बिच खेलकुदमन्त्री तेजुलाल चौधरीले ७ प्रदेशबाट १/१ जना,१ जना समावेशी,१ जना दलित तथा १ जना केन्द्रका अनुभवी पत्रकार गरि १० जनालाई नगद राशिले सम्मान गरेका हुन्।

सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट इलाम-४ का मुकुन्द घिमिरे,मधेस प्रदेशबाट जीतपुरसिमरा उपमहानगरपालिका-१५ बाराका शरदचन्द्र भट्टराई(सुनिल गाउँले),वागमती प्रदेशबाट हेटौंडा उपमहानगरपालिका-२ का बिक्रमकुमार बानियाँ,गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका-२२ कास्कीका दिननाथ बराल,लुम्बिनी प्रदेशबाट बुटवल उपमहानगरपालिका-११ रुपन्देहीका स्वस्तिक श्रेष्ठ,कर्णाली प्रदेशबाट ठाँटिकाँध गाउँपालिका-२ दैलेखका दिनेशकुमार बुढा,सुदुरपश्चिम प्रदेशबाट सुर्नया गाउँपालिका-२ बैतडीका दिनेशकुमार विष्ट,महिलातर्फ व्यास नगरपालिका-१ तनहुँकी नमिता दाहाल,दलिततर्फ नेपालगंज उपमहानगरपालिका-१३ बाँकेकी रुपा गहतराज तथा केन्द्रबाट काठमाडौं महानगरपालिका-२४ का श्रीलोचन राजोपाध्याय छ्न्।
९ जनालाई प्रोत्साहन पुरस्कारस्वरुप जनही २५ हजार र राजोपाध्यायलाई अनुभवी पत्रकार भन्दै ५० हजार रुपैयाँ प्रदान गरिएको छ। मन्त्रालयले हरेक वर्ष राष्ट्रिय खेलकुद प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ।
खेलकुद मन्त्रालय अन्तर्गतको पुरस्कार मूल्यांकन समितिले मुल्यांकन गरी यस वर्ष देशभरिका दश जना खेलकुद पत्रकारहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।
वागमतिमा बानियाँ,मधेशमा गाउँले

खेलकुदमन्त्री चौधरीबाट पुरस्कार ग्रहण गर्दै बानियाँ।
हेटौंडा-२ निवासी बिक्रमकुमार बानियाँ एक दशकदेखी गोलनेपाल डटकमसँग आबद्ध रहि खेलकुद पत्रकारिता गर्दै आएका पत्रकार हुन्। बानियाँ विशेषगरी फुटबल प्रतियोगिताहरूको लाइभ रिपोर्टिङमा परिचित छन्।
उनी गोलनेपालको सह–सम्पादक तथा वागमती प्रदेश ब्युरो प्रमुखका रुपमा खेलकुद पत्रकारितामा सक्रिय छन्।
खेलकुदको रिपोर्टिङकै क्रममा देशका विभिन्न जिल्ला भ्रमण गरेका बानियाँले अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्षेत्र विस्तार गरेका छन्।
उनी सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न फिफा क्लब विश्वकपमा गोलनेपालको प्रतिनिधिका रूपमा सहभागी भएका थिए।

खेलकुदमन्त्री चौधरीबाट पुरस्कार ग्रहण गर्दै गाउँले।
बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-१५ निवासी शरदचन्द्र भट्टराई(सुनिल गाउँले) स्थानीय स्तरमा चर्चित पत्रकार हुन्।
उनी विशेषगरी खेलकुद प्रतियोगिताहरुको औपचारिक कार्यक्रमहरुमा उद्घोषण गरिरहेका भेटिन्छ्न्।
सिमरामा हरेकवर्ष आयोजना हुने जीतपुर-सिमरा गोल्डकप प्रतियोगिताको कार्यक्रम संचालन गर्ने जिम्मा उनै गाउँलेको भागमा पर्छ।
नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्षसमेत रहेका गाउँलेले यस वर्ष मधेश प्रदेशबाट पुरस्कार हात पारेका हुन्।
गाउँले सिमराबाट प्रकाशित नयाँ इतिहास डटकमका सम्पादक हुन् भने उनले यसअघि विभिन्न संचारमाध्यमहरुमा काम गरिसकेका छन् ।



