असार२०,निजगढ। बाराको निजगढ नगरपालिका कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता स्टेशन संचालन हुने भएको छ।
कार्यालयको माग अनुसार जिल्ला प्रशासन कार्यालय बाराले दर्ता अपरेटरसहितका कर्मचारी खटाएपछि स्टेशन संचालन हुने निश्चित भएको हो ।
नगरपालिका कार्यालयको अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाण्डौंले जिल्ला प्रशासन कार्यालयमार्फत अपरेटर विकेशकुमार केशरीलाई ३ महीनाको लागि खटाएको र अबको एकदुई दिनभित्र नै कार्यालयबाट नै परिचयपत्र बनाउने कार्य शुरु गरिने नगरप्रमुख सुरथ पुरीले जानकारी दिए ।
पुरीका अनुसार नगरपालिकाले पटकपटक आग्रह गरेपछि प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम गर्न आवश्यक जनशक्ति र उपकरण पठाएको हो ।
जिल्ला प्रशासन कार्यालयले निजगढ नगरपालिकको नाममा पठाएको पत्रमा दैनिक न्युनतम ५० जनाको विवरण संकलन गर्ने गरी कार्य योजना बनाएर सोही अनुसार स्टेशन संचालन गर्न र उक्त संख्या पुर्याउन आवश्यक व्यवस्थापन गर्न भनेको छ ।
नगरप्रमुख पुरीले पछिल्लो पटक गत बैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर निजगढमा विवरण संकलनको स्टेशन स्थापना गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाण्डौंको लागि सिफारिस माग गरेका थिए ।
निजगढ नगरपालिकामा अहिलेसम्म करिब ६० प्रतिशत नागरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको पुरीले बताएका छन्।



