असार२६,काठमाडौं।राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल (रालोक)ले तीजलाई लक्षित गरी सार्वजनिक भएका दुईवटा गीतलाई प्रतिबन्ध गरेको छ।

रालोकले विहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै मौलिक परम्परालाई प्रहार गरेको भन्दै दुई गीतलाई प्रतिबन्ध गरेको हो।

रालोकले धुर्व पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको “गाई कालो ,गाईको दुध सेतो” र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको “सल्ला दमारमा” गीतलाई प्रसारण तथा प्रकाशनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

संस्थाले आगामी दिनहरुमा पनि यस्ता अश्लिल शब्द र परिवारसँग बसेर हेर्न नसकिने गीत र भिडियोहरु आएमा सबैले आ-आफनो ठाउँबाट बहिष्कार गर्न पनि सुझाएको छ।

यहि बिषयलाई लिएर राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकलाई आजै अपरान्ह ४ बजे ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

रालोकले यस्ता गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब, तथा सामाजिक सञ्जाल लगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउनसमेत सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।

रालोकका अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षरित बिज्ञप्ती👇️

तीज पर्वमा विकृति र अश्लीलता फैलाउने गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
पवित्र नेपाली पर्वहरूमध्ये एक प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीत(संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ।
तीज मूलतः नारी सशक्तिकरण, धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक सम्मानको पर्व हो। यस पर्वको सांगीतिक प्रस्तुतिमा मौलिक लोकधुन, सन्देशमूलक भाव र समुचित भाषा शैलीले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ। तर, पछिल्ला वर्षहरूमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाहरूले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीत/संगीत उत्पादन तथा प्रसारण गरिरहेका छन्। जुन अत्यन्त निन्दनीय छ।
तीज पर्वको नाममा उत्पादन हुने कुनैपनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादाविपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब, तथा सामाजिक सञ्जाल लगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछ।
यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेहरूलाई आवश्यक कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी, साइबर ब्यूरो, कलाकार संगठन लगायत सम्बन्धित निकायहरूमा औपचारिक अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
सांस्कृतिक विरासत जोगाउनका लागि मौलिक, सन्देशमूलक, लोक परम्परा झल्काउने गीतहरूको संरक्षण, प्रचार प्रसार र प्रोत्साहन गर्न सबै सञ्चारकर्मी, सर्जक, गायक, संगीतकर्मी तथा सम्पूर्ण आम जनमानसलाई हार्दिक आह्वान गर्दछ। नेपाली लोक संस्कृतिको संरक्षण,सम्वर्द्वन र प्रचार प्रसार गरौं शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनिश्चित गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय