साउन२९,निजगढ।मधेश प्रदेशको बारा जिल्लामा पर्ने निजगढ नगरपालिका फुटबलको उर्वर क्षेत्र साबित हुँदै गएको छ।
केही वर्ष अघिसम्म स्थानीय प्रतियोगिताहरुमा मात्रै सिमित यहाँका खेलाडीहरु पछिल्लो समय भटाभट राष्ट्रिय टोलिमा पर्न थालेका हुन्।
निजगढबाट महिला र पुरुष दुबैतर्फका खेलाडीहरु राष्ट्रिय टोलिमा समावेश छन्।
अखिल नेपाल फुटबल सङ्घ,एन्फाले गत आईतवार मात्रै घोषणा गरेको साफ यु-१७ महिला फुटबल च्याम्पियनसिपको २३ सदस्यीय टोलीमा निजगढ-७ की अनु माझी समावेश छिन्। यसअघि निजगढ-५ का सिर्जन गौतम राष्ट्रिय टोलिमा परिसकेका छन्।
दक्षिण एसियाली फुटबल महासङ्घ साफको आयोजनामा भुटानमा यही अगस्ट २० देखि ३१ तारिखसम्म हुने च्याम्पियनसिपमा माझी नेपालको तर्फबाट खेल्नेछिन्।
प्रतियोगितामा नेपालसहित आयोजक भुटान,भारत र बङ्गलादेशको सहभागिता रहनेछ।
माझीले निजगढ फुटबल क्लबबाट खेल्न शुरु गरेकी हुन्।क्लबले निजगढ-९ स्थित शहीद हिरालाल गौतम रंगशालामा स्थानीय खेलाडी छनौट गरि नियमितरूपमा प्रशिक्षण गराईरहेको छ।
यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीमा परिसकेका निजगढ-८ का फरवार्ड समीर तामाङ, निजगढ-४ का जन्म जन्मेय धामी,यु-२० महिला फुटबल टोलीकी गोलरक्षक करुणा बुढाथोकी, यु-१७ नेपाली महिला फुटबल टोलीबाट खेलिसकेकी दिलमाया घिसिङ र यु-१६ नेपाली फुटबल टोलीबाट खेलेका हेमन्त माझी निजगढ फुटबल क्लबका उत्पादन हुन्।
निजगढबाट पनि राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन हुन थालेपछि नगरका अन्य खेलाडीहरु थप हौसिएका छन् र प्रशिक्षणमा तल्लीन छन्।

सिंगौलमा प्रशिक्षणरत खेलाडीहरु।
उनीहरुलाई प्रशिक्षकहरु धनबहादुर योञ्जन र निर्दीप जोशीले निजगढको लाल र सिंगौलमा महिला पुरुष दुबै टोलिलाई आफ्नै पहलमा निशुल्क फुटबल प्रशिक्षण दिईरहेका छ्न्।
तर,उनिहरुलाई प्रशिक्षण गराए बापत फुटबल सम्वद्व संस्थाहरु तथा पालिका र वडा कार्यालयहरुले खासै सहयोग र चासो नदेखाएको प्रशिक्षक योञ्जनले बताए।
“उनीहरुबाट २/४ थान फुटबल बाहेक केही सहयोग आएको छैन,हामी फुटबलमा क्रेजी भएर मात्र सिकाएका हौँ” उनले भने।




