असोज२५,निजगढ। बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिँदा २ जनाको ज्यान गएको छ।अन्य ६ जना घाईते भएका छन्।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालीका-६ सानो इटवाल बस्ने ७०वर्षिया शारदादेवी महतो र सिम्रौनगढ-५ का १५ वर्षिय निरहुवा भनिने सुनिल महतो छन्।
शारदादेवीलाई उपचारार्थ प्रादेशिक अस्पताल कलैया लाँदै गर्दा बाटोमा नै मृत्यु भएको र सुनिललाई कलैयास्थित मेट्रो अस्पतालका चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका बारा प्रहरीले जनाएको छ।
अन्य घाईतेहरुमा सिम्रौनगढ-६ सानो इटवालकै १४ वर्षिय साजन महत्तो र १८ वर्षिय गौतम मुखिया तथा सिम्रौनगढ-५ का १५ वर्षिय नितेश महतो, १४ वर्षिया रानीकुमारी महतो, बर्ष १४ कै सुशिलाकुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा छन्।
रानिकुमारीको बायाँ हात भाँचिएको र अन्यको टाउको,ढाड,कम्मर तथा हातगोडामा चोट लागेको अवस्थामा स्थानिय विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
उनिहरु सिम्रौनगढ-६ स्थित पानी ट्यांकी नजिक रहेको इशरा पोखरीको डिलमा घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा आज विहान पौने ९ बजे पुरिएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट १४ जना र सशस्त्र प्रहरी बेश,सिम्रौनगढबाट ७ जना गरि २१ जनाको प्रहरी टोलीले उनिहरुको उद्वार गरि उपचारार्थ अस्पताल पठाएको प्रहरीले जनाएको छ।



