कार्तिक२,निजगढ।पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित डुंग्रे पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जीतपुर-सिमरा-१५ नयाँवस्ती टोल बस्ने अन्दाजी २० वर्षिय साजन तमाङ र मोटरसाइकल पछाडी सवार जीतपुर-सिमरा-१४ खयरघारी टोल बस्ने अन्दाजी २२ वर्षिय किरण मोक्तान छन्।

उनिहरु सवार ना३३प ६८५७ नम्बरको मोटरसाइकल आईतवार विहान सवा १२ बजेको समयमा आफैं अनियन्त्रित भई उक्त पुलको रेलिङमा ठोक्किएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
घटनास्थल पथलैया चोकबाट २ किलोमिटर पूर्वतर्फ रहेको उनले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई तत्काल उद्धार गरी एलएस न्युरो अस्पताल,परवानिपुर पुर्याइए पनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए।
मृतकहरुको शव सोही अस्पतालमा तथा,दूर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी पथलैयाको नियन्त्रणमा रहेको जोशीले बताए।




