मंसिर५,हेटौंडा।सडक डिभिजन कार्यालय हेटौंडाले उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाकेन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
कार्यलयले आज सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु हटाउन भनेको हो ।
सडक डिभिजनले घरटहरा हटाउन भन्दै दुई वर्षअघि सूचना निकालेको भएपनि घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो ।
सडक डिभिजन हेटौंडाले आज फेरि जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ।
सर्वोच्च अदालतको २०७८ पुस १९ गते लगायत विभिन्न मितिका उत्प्रेषण आदेशहरु समेतबाट सडक डिभिजन हेटौंडाअन्तर्गत पर्नेे रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५/२५ गजको क्षेत्रमा क्षतिपूर्ति पाउने हुँदैन भनी फैसला भएको सूचनामा उल्लेख छ ।



