पुस ९ हेटौंडा। हेटौंडामा १२ औँ ‘सडक खाना महोत्सव ‘ हुने भएको छ।
यहि पुस १३ देखि १६ गतेसम्म हुप्र चौरको पूर्वतर्फ रहेको उत्तर- दक्षिण सडकमा महोत्सव संचालन गरिने आयोजकले जनाएको छ।
मकवानपुर होटल एशोसियशन ,हेटौंडाको आयोजनामा हुने महोत्सवमा पौराणिक देखि आधुनिक किसिमका विभिन्न परिकारका खाना नास्ताको प्रबन्ध गरिनुका साथै स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम पनि रहने जनाईएको छ।
“सडकमै जाउँ, सडकमै खाँऊ, सडकमै रमाउँ,” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ।
खानाको पारखीहरुलाइ एकै स्थानमा भेला गराई आ-आफ्ना जातिय साँस्कृतिक र लोपोन्मुख जातिय साँस्कृतिक खानाको जगेर्ना गर्ने उदेश्य अनुरुप कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।
वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले यहि पुस १३ गते अपरान्ह ४ बजे महोत्सवको उद्घाटन गर्ने तय भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।
करिब १५ लाख ७२ हजार खर्च अनुमान गरिएको महोत्सवमा ६० ओटा स्टलहरु राखिने आयोजकले जनाएको छ।
४ दिनमा ७० देखि ८० लाखसम्म कारोबार हुने अनुमान गरेको आयोजकले स्थानीय र बाह्य जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत गरि ३० देखि ४० हजार अवलोकनकर्ता उपस्थित हुनसक्ने अनुमान गरेको छ।
महोत्सवमा विभिन्न डेकोरेटिभ झिलिमिली बत्तीद्वारा मेला सजाउने,सुरक्षा निकाय र आवश्यक स्वयंसेवक परिचालन गरी सुरक्षाको प्रत्याभुति गराईने,खानाको मेनु प्रत्येक स्टलमा अनिवार्य राख्न लगाईने,खाद्य सामाग्रीहरुको शुद्धतामा जोड दिईने,आवश्यक शौचालयको व्यवस्था गरिने,दैनिक फोहोर व्यवस्थापन गराईने,आपतकालिन अवस्थाका लागि रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरद्वारा एम्बुलेन्स र हेटौंडा उपमाहनगरपालिकाबाट दमकलको व्यवस्था गरिने,मकवानपुर सहकारी अस्पतालद्वारा आकस्मिक उपचार सेवा लगायतका व्यवस्था हुने आयोजकको दाबी छ।




