पुस १८,हेटौँडा । मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकामा प्रहरीले ३० बिगाहा क्षेत्रफलमा लगाईएको गाँजा र अफिमखेती फडानी गरिरहँदा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अभिव्यक्तिले दोहोरो नीति देखिएको आरोप उठेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष अभियानअन्तर्गत २१ बिगाहा गाँजा र ९ बिगाहा अफिमखेती नष्ट गरिएको हो । प्रहरीका अनुसार फडानी अभियान आगामी दिनमा पनि जारी रहनेछ ।

तर त्यही क्षेत्रमा पुगेर मुख्यमन्त्री बानियाँले गाँजा औषधीय वनस्पति भएको दाबी गर्दै कानुनी व्यवस्थामाथि प्रश्न उठाएका थिए । उनले गाँजालाई कानुनी दायरामा ल्याउनुपर्ने बताएपछि राज्य स्वयं विरोधाभासी भूमिकामा देखिएको टिप्पणी सुरु भएको छ ।
आलोचकहरूले भने कानुन संशोधन नभएसम्म गाँजा र अफिम खेती गैरकानुनी नै हो भनेका छन्। एकातर्फ प्रहरी फडानीमा र अर्कोतर्फ मुख्यमन्त्रीको समर्थनले प्रदेश सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।



