माघ १९,हेटौंडा।गत भदौमा भएको ‘जेन्जी आन्दोलन’को क्रममा भीमफेदी कारागार र हेटौंडास्थित बाल सुधार गृहबाट फरार भएका तीन जना अभियुक्तहरूलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले खोजतलासका क्रममा उनीहरूलाई माघ १७ र १८ गते फेला पारेको हो।
पक्राउ पर्नेहरूमा भीमफेदी कारागारबाट फरार भएका दुई जना र बाल सुधार गृहबाट फरार भएका एक बालक रहेका छन्।
पक्राउ पर्नेहरुको विवरण:
मुन्ना स्याङतान: मकवानपुर बागमती गाउँपालिका वडा नं. ६, कैलेडाँडा निवासी ३० वर्षीय स्याङतान जबरजस्ती करणी (ज.ज.क.) मुद्दाका प्रतिवादी हुन्।
विशाल गोले: मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ७, हरियाली निवासी २२ वर्षीय गोले लागू औषध (ट्रामाडोल) मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
नाबालक (गोप्य): हेटौंडास्थित बाल सुधार गृहबाट फरार भएका लागू औषध (ब्राउन सुगर) मुद्दाका एक बालक।
घटनाको पृष्ठभूमि
२०८२ साल भदौ २३ र २४ गते देशभर भएको जेन्जी (Gen Z) आन्दोलनको क्रममा सिर्जित सुरक्षा संवेदनशीलताको फाइदा उठाउँदै उनीहरू कारागार र सुधार गृहबाट भाग्न सफल भएका थिए।
लामो समयको खोजी र निगरानीपछि प्रहरीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारेको जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही र बाँकी कैद भुक्तानका लागि पुनः भीमफेदी कारागार र बाल सुधार गृह हेटौंडा पठाइसकिएको प्रहरीले जनाएको छ।



