माघ १९,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बागलुङ जिल्लाको हलिङचोक नगरपालिका वडा नं. ३ बस्ने १९ वर्षीय बिबेक घर्ती मगर रहेका छन्।
यसरी भयो पक्राउ:
प्रहरी चौकी रातोमाटेबाट खटिएको विशेष टोलीले आइतबार (माघ १८ गते) बिहान ९:४१ बजेको समयमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ज ०९२८ नम्बरको यात्रुवाहक ईभी गाडीलाई नियमित चेकजाँच गरेको थियो। सोही क्रममा गाडीमा सवार मगरमाथि शंका लागेर खानतलासी गर्दा उनको साथबाट लागूऔषध फेला परेको हो।
बरामद परिमाण र कानुनी प्रक्रिया:
प्रहरीले मगरको साथबाट १ ग्राम ३५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको छ। पक्राउ परेका मगरलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



