फागुन ५ हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दिउँसो करिब ३:२० बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै टिपर चालक सवारीसहित हेटौँडा बजारतर्फ फरार भएका थिए।
मोटरसाइकल चालक रुपन्देही घर भएका करिब २८ वर्षीय जगदिश थारुलाई चिकित्सकले मृत घोषणा गरेका छन्।
मोटरसाइकल पछाडि सवार दाङ राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरीको दाहिने हात र आँखा मुनि चोट लागेको छ।
हाल उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। फरार रहेको टिपर र त्यसका चालक, हेटौँडा–१५ भोर्ले बस्ने २६ वर्षीय रोहित तामाङलाई प्रहरी चौकी बसामाडी लेबटले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका चालक र सवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ।



