फागुन ६,हेटौंडा।महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार र शारीरिक आक्रमण गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाडौं-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, मन्दिर परिसरको सुरक्षा व्यवस्थापनमा खटिएका एक प्रहरी कर्मचारीको छातीमा श्रेष्ठले लात्तीले हानेर अभद्र व्यवहार गरेका थिए।
ती युवकलाई सुरक्षाकर्मीले लट्ठि प्रहार गरेको र ती युवा पनि सुरक्षाकर्मीमाथी जाईलागेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो।
भिडियो सार्वजनिक भएपछि प्रहरीले उनको सुक्ष्म खोजी (CCTV र प्राविधिक विश्लेषण) गरी नियन्त्रणमा लिएको हो।
उनीमाथि ड्युटीमा रहेका राष्ट्र सेवकलाई काममा बाधा पुर्याएको आरोप छ।
पक्राउ परेका श्रेष्ठमाथि प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुर,राष्ट्र सेवकलाई काममा बाधा पुर्याएको अभियोगमा अनुसन्धान अघि बढाएको छ।
”कानुन कार्यान्वयन गर्ने निकायमाथि नै जाइलाग्ने र अभद्र व्यवहार गर्ने जोकोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,” परिसर प्रमुख थापाले भने।




