फागुन १३,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम सडकखण्डमा भएको उक्त दुर्घटनामा राक्सिराङ गाउँपालिकाका दुई युवकले ज्यान गुमाएका हुन्।
आज बिहान करिब ०५:०५ बजे हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशा (नेवारपानी) बाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाएको थियो।
अस्पताल पुर्याइएका घाइतेहरूलाई चिकित्सकले बिहान ०५:५२ बजे मृत घोषणा गरेका थिए।
मृत्यु हुनेहरूमा राक्सिराङ-१ का मोटरसाइकल चालक २२ वर्षिय संजित स्याङतान र मोटरसाइकल पछाडि सवार, राक्सिराङ १ कै १८ वर्षिय अमोश थिङ छन्।
घटनास्थलबाट फरार रहेको ट्रकको खोजी गर्ने क्रममा प्रहरीले ग २ ख ८९८ नम्बरको ट्रकलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, प्रतिमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको छ।
ट्रक चालक बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय अनिल साह भने अझै फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।




