फागुन १९,निजगढ।बाराको निजगढ नगरपालिका वडा नम्बर ११ स्थित तामागढी-रतनपुर भित्री सडक खण्डमा मंगलबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

हिजो (मंगलबार) बेलुकी अन्दाजी ५:१५ बजेको समयमा निजगढ-१२ कोलगाउँबाट तामागढी तर्फ जाँदै गरेको ना ६२ प ३६६६ नम्बरको मोटरसाइकल ‘तपस्या स्थल’ नजिकै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि सिटी अस्पताल निजगढ पठाइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई एलएस न्युरो अस्पताल रिफर गरिएको थियो।

​मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँका २८ वर्षीय रमेश गोले रहेका छन्। उनको उपचारका क्रममा हिजै बेलुकी ६:४९ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।सोही ठाउँका २६ वर्षीय सुजन स्याङतान र २२ वर्षीय रोजन गोले गम्भीर घाईते रहेका छन्।

दुवैको अनुहार र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल खटिएको थियो।

दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय