फागुन २९,हेटौंडा।पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान दुईवटा मालवाहक सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जना चालकको मृत्यु भएको छ।
आज बिहान करिब ६:१० बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र विपरीत दिशा (चितवन) बाट वीरगन्जतर्फ जान आउँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक नेवारपानीमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उद्धार कार्य सुरु गरेको थियो। ठक्करका कारण टेलर गाडीका चालक स्टेरिङमा नराम्ररी च्यापिएको अवस्थामा भेटिएका थिए।
प्रहरी र स्थानीयको झन्डै एक घण्टाको प्रयासपछि उनलाई उद्धार गरी उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल (CMC) पठाइएको थियो।
टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेका चालकलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतक चालक सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१५, पिपराभिट्टा घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैया बस्ने ३८ वर्षीय गोविन्द चौधरी रहेका छन्।
दुर्घटनामा संलग्न अर्को सवारी (ट्रक) का चालक चितवनको खैरहनी नगरपालिका–९ बस्ने ४२ वर्षीय धनेश्वर चौधरी भने सकुशल रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुवै सवारी साधनलाई सडकबाट हटाई यातायात सुचारु गराएको छ भने घटनाबारे थप कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



