फागुन २९,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित गिरि टोलमा बिहीबार दिउँसो एक गोठमा भीषण आगलागी भएको छ। आगलागीमा परी गोठमा बाँधिएका दुईवटा पशुचौपायाको जलेर मृत्यु भएको छ भने गोठ पूर्ण रूपमा नष्ट भएको छ।
गिरि टोल बस्ने आत्मालाल काफ्लेको काठ र जस्तापाताले बनेको गोठमा बिहीबार दिउँसो करिब ४:०० बजेको समयमा अचानक आगलागी भएको थियो।

आगलागीको मुख्य कारण बिजुली सर्ट हुनु रहेको प्रहरीले जनाएको छ। काफ्लेको घरबाट गोठ केही दूरीमा रहेकाले आगलागी हुँदा पशुलाई बचाउन सकिएन।
आगलागीको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हटियाबाट प्रहरी नायब निरीक्षक (प्रनानि) सर्फलाल प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो।
प्रहरी र स्थानीयबासीको एक घण्टाको अथक प्रयासपछि साँझ ५:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीमा परी गोठभित्र रहेका एक वटा दुहुनो गाई र एक वटा बाच्छो जलेर मरेका छन्।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट गोठ र चौपाया समेत गरी करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा अन्य कुनै मानवीय क्षति भने भएको छैन।
घटनास्थल अस्थायी प्रहरी पोष्ट हटियाबाट करिब ५ किलोमिटर पश्चिम दूरीमा रहेको छ। स्थानीयले समयमै आगो नियन्त्रणमा लिन सहयोग नगरेको भए आगो छेवैको घरमा पनि सल्कन सक्ने सम्भावना थियो।
मकवानपुरमा सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेका छन्।



