चैत्र ६,हेटौंडा।शुक्रबार आएको भीषण हावाहुरीका कारण हेटौडा एफएमको प्रसारण टावरमा ठूलो क्षति पुगेको छ। हावाहुरीले रेडियोको टावर नै भाँचेपछि एफएमको नियमित प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
टावरमा पुगेको क्षतिका कारण रेडियो सुन्न नपाउँदा श्रोताहरूमा पर्न गएको असुविधाप्रति हेटौडा एफएम परिवारले दुःख व्यक्त गरेको छ।
एफएमका अध्यक्ष उज्वल चौलागाईले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिले पुर्याएको यो क्षतिलाई चिर्दै छिट्टै पुनः प्रसारणमा फर्कने प्रतिबद्धता जनाएका छन्।
”आजको विशाल हावाहुरीले हाम्रो प्रसारण टावर भाँचेर क्षति पुर्याएको हुनाले केही समय प्रसारण अवरुद्ध हुने जानकारी गराउँदछौँ,” अध्यक्ष चौलागाईले भने, “हामी फेरि उठ्नेछौँ र यो दुःखलाई भुल्दै चाँडै तपाईंहरूसमक्ष प्रसारण लिएर आउनेछौँ।”
मकवानपुरको पुरानो र लोकप्रिय सञ्चार माध्यमको रूपमा रहेको हेटौडा एफएमको प्रसारण प्राविधिक मर्मतपछि पुनः सुचारु हुने बताइएको छ।



