चैत्र ६,हेटौंडा।मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ८ स्थित गंगटेमा पहिरो खस्दा कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज (शुक्रबार) बेलुका करिब ५ बजेको समयमा सडक माथिबाट लेदोसहितको ठूलो पहिरो खसेपछि यो मार्ग भएर चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।
पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
प्रहरीका अनुसार, पहिरो खसेको स्थान इ.प्र.का. ठिङ्गनबाट करिब ६ किलोमिटर पूर्व-उत्तर दिशामा पर्दछ। सडकमा ठूलो मात्रामा पहिरो थुप्रिएकाले बाटो खुलाउन केही समय लाग्ने देखिएको छ।
राजधानी काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको यो मार्ग अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्। हाल पहिरो पन्छाएर सडक सुचारु गर्न आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।



