चैत्र ११,निजगढ। भनिन्छ, “सेवा नै धर्म हो”, तर जब कसैको जीवन रक्षाका लागि पैसाको पहाड तेर्सिन्छ, तब मानवीय संवेदना र समाजको वास्तविक अनुहार छर्लङ्ग हुँदो रहेछ।
बाराको निजगढ नगरपालिका वडा नं. २, सिंगौलकी २१ वर्षीया एक जेहेन्दार विद्यार्थी ईशा बिक अहिले मृत्युसँग जुधिरहेकी छिन्।
उनका दुवै मृगौलाले काम गर्न छाडेका छन्।

घरी अस्पतालको शैय्या त घरी घरका भित्ताहरुमा छटपटाइरहेकी ईशाको परिवारले आफूसँग भएको जायजेथा र लाखौँ रुपैयाँ उपचारमा खर्चिसक्यो। तर, उनको जीवन बचाउन अब मृगौला प्रत्यारोपण बाहेक अर्को विकल्प छैन।
सरकारले दिने सहुलियत बाहेक पनि थप ६ देखि ७ लाख रुपैयाँको अभावमा उनको उपचार प्रक्रिया रोकिएको छ।
ईशा बचाउँन एक सञ्चारकर्मीको छट्पटी
ईशाको आर्थिक अवस्था र नाजुक स्वास्थ्य स्थिति देखेपछि एक सञ्चारकर्मीको नाताले मैले उनको जीवन रक्षाका लागि एउटा अभियान सुरु गरेँ।
धेरै प्रतिष्ठित व्यक्ति, कलाकार, नेता र अभियन्ताहरूसँग हारगुहार गरेँ। सोचेको थिएँ— ‘ठूला’ मान्छेहरूको एउटा सानो सहयोगले ईशाको ओठमा हाँसो फर्कनेछ।
तर विडम्बना ! समाजका ती भनिने ‘प्रतिष्ठित’ वर्गबाट आश्वासन बाहेक खासै ठोस सहयोग र चासो प्राप्त हुन सकेन।
बरु, मैले नसोचेका सामान्य मानिसहरूले मलाई खोजी-खोजी सन्देश पठाएर आफ्नो गच्छे अनुसारको सहयोग गरिरहेका छन्।
अहिलेसम्मको एक हप्ता लामो दौडधुपबाट मात्र ६० हजार रुपैयाँ जति संकलन भएको छ, जुन लक्ष्यको तुलनामा निकै कम हो।
तर,यो निराशाका बीच महिला हिँसाको विरुद्ध सशक्त आवाज उठाईरहेकी एक अभियन्ता शोभा पाठकले भने ईशाको उपचारका लागि केही आशाका किरणहरू छरेकी छिन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत ईशाको उपचारमा जोडिन आव्हान गरिरहेकी छिन्।
उनले व्यक्तिगत रूपमा गरिरहेको पहलले यो अभियानलाई केही राहत त दिएको छ, तर एउटा कलिलो जीवन बचाउन त्यो मात्र पर्याप्त नहोला।
यस अभियानका क्रममा मैले एउटा कठोर सत्य महसुस गरेँ— “समाजमा मन हुनेहरूसँग धन छैन, र धन हुनेहरूसँग सायद अरूको दुःख देख्ने मन छैन।”
२१ वर्षको उमेर, जहाँ सपनाहरू बुन्ने र भविष्य कोर्ने बेला हो, त्यस्तो समयमा ईशा मृत्युको दोसाँधमा छिन्।
तपाईँको सानो सहयोगले एउटा विद्यार्थीको ज्यान जोगिन सक्छ, एउटा परिवारको खुसी फर्कन सक्छ।
अझै पनि केही मनकारी हातहरू अगाडि आए ईशाले नयाँ जीवन पाउने थिइन्। के हामी सबै मिलेर ईशाको सपनालाई मर्न नदिन अलिकति ‘मन’ र थोरै ‘धन’ जुटाउन सक्छौँ?
यदि सक्नुहुन्छ भने उनै विरामी ईशाको ईसेवा अकाउण्टको क्युआर यहाँपनी दिएको छु।
कृपया यसमा जोडिने प्रयास गर्नुहोला।🙏





