चैत्र १८,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर बागमती गाउँपालिका वडा नं. १ भैसे बस्ने ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो।
बागमती खोलाको बगरमा माछा मारेर घर फर्कने क्रममा साँझ करिब ६:३० बजे पहरीलाई चट्याङले लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि झुरझुरेस्थित सान्भी पोलिक्लिनिक पुर्याइएको थियो।
त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौँडा रिफर गरिएकोमा राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
सोही घटनामा परी सोही स्थानका ३७ वर्षीय उज्वल थोकर घाइते भएका छन्।
पहरीसँगै घर फर्कँदै गर्दा चट्याङको चपेटामा परेका थोकरलाई तत्काल उपचारका लागि हेटौँडा लगिएको थियो। हाल उनको अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।



