चैत्र १८,निजगढ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पश्चिम लच्का सडकखण्डमा आज मध्याह्न भएको भीषण सवारी दुर्घटनामा परी दुईजना युवकको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन् ।
आज मध्यान्ह करिब १२:०० बजे सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४२ प ९८२४ नम्बरको डुक (Duke) मोटरसाइकल र पथलैयाबाट निजगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ३६६१ नम्बरको एफजेड (FZ) मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी डुक मोटरसाइकलका चालक सर्लाही जिल्ला लालबन्दी नगरपालिका–७ बस्ने २२ वर्षीय वैभव ढुंगाना गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि एल.एस. न्युरो अस्पताल बारा पठाइएकोमा उपचारकै क्रममा दिउँसो १२:४४ बजे चिकित्सकले मृत घोषणा गरेका निजगढ प्रहरीले जानकारी दिएको छ।
ढुंगाना लालबन्दीका उमेश ढुंगानाका छोरा हुन् ।
त्यसैगरी, अर्को एफजेड मोटरसाइकलका चालक बारा निजगढ नगरपालिका–६ ध्यालटोल बस्ने २३ वर्षीय सुरेश श्रेष्ठको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठलाई सुरुमा सामुदायिक प्रसूति गृह अस्पताल निजगढमा सामान्य उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । कलैयामा चेकजाँचका क्रममा दिउँसो १:१५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो।
प्रहरीले दुर्घटनामा परेका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख,प्रहरी निरीक्षक जीवन लामिछानेले घटनाको बारेमा थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको बताएका छन्।



