चैत्र १९, हेटौंडा। हेटौँडा सिमेन्ट उद्योग परिसर र आसपासका क्षेत्रमा विगत केही दिनदेखि चितुवाको चहलपहल बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
उद्योगको कम्पाउण्डभित्र चितुवाले चित्तल र हरिण जस्ता वन्यजन्तुको निरन्तर सिकार गर्न थालेपछि मानवीय जोखिम समेत बढेको भन्दै सो क्षेत्रका झाडीहरू तत्काल सफा गर्न स्थानीयलाई आव्हान गरिएको छ।
झाडीका कारण चितुवा लुकेर बस्न सजिलो भएको र बस्तीमा समेत खतरा बढेको महसुस गरी आगामी शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाश गौतमका सचिवालय प्रमुख किशोर अर्यालले जानकारी दिए।
उनका अनुसार २१ गते शनिबार बिहान ८ बजे सिमेन्ट उद्योगको प्राङ्गणमा भेला भई कम्पाउण्ड भित्र र बाहिर रहेका झाडीहरू फँडानी गरिनेछ।
झाडी फँडानी अभियानमा हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय हेटौँडा, सडक विभाग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को RAT (Rapid Action Team) टोली समेत परिचालन हुने अर्यालले बताए।
चितुवाको सम्भावित लुक्ने ठाउँहरू नष्ट गरी सुरक्षित वातावरण निर्माण गर्नका लागि सम्पूर्ण नगरबासी एवं सरोकारवाला महानुभावहरूलाई आ-आफ्नो घरमा रहेका हँसिया, कचिया लगायतका औजारसहित उपस्थित हुन आह्वान गरिएको छ।
बस्ती नजिकै चितुवाको त्रास बढेपछि वन कार्यालय र सुरक्षा निकायले पनि उच्च सतर्कता अपनाउन र एक्लै हिँडडुल नगर्न स्थानीयलाई आग्रह गरेका छन्।
शनिबारको श्रमदानमा सहभागी भई आफ्नो क्षेत्रलाई सुरक्षित बनाउन आयोजकले सबैमा अनुरोध गरेको छ।



