चैत्र १९, हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

बिहीबार दिउँसो करिब ४:३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, मोरेस्थित गाउँमा बिजुली लैजानका लागि स्थानीय ५/६ जना मिलेर फलामको पोल गाड्ने प्रयास गरिरहेका थिए।

सोही क्रममा फलामको पोलले माथि रहेको हाईटेन्सन प्रसारण लाइनमा छुन पुग्दा उनीहरूलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका मकवानपुरगढी–२, मापुङ निवासी ३०/३५ वर्षीय राजकुमार गोलेको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको छ।

अस्पताल पुर्‍याइएका गोलेलाई चिकित्सकले बेलुका ५:४५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी मकवानपुरगढी–७, सानडाँडाका ५०/५५ वर्षीय मान बहादुर गोले र वडा नम्बर २, मोरेका ३० वर्षीय राजकुमार स्याङतान घाइते भएका छन्।

घाइतेमध्ये मानबहादुरको अवस्था मध्यम रहेको र स्याङतानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरेको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय