चैत्र २०, हेटौंडा।मकवानपुरको हेटौंडास्थित एक परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी र उनलाई परीक्षा दिन लगाउने मुख्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज शुक्रबार बिहान ८:०० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा यो घटना घटेको हो ।
सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर ४ घर भई हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज बि.क.ले अर्काको प्रवेश पत्रमा आफ्नो तस्विर टाँसेर परीक्षा दिइरहेको अवस्थामा फेला परेका हुन्।
परीक्षा हलमा निरीक्षकले प्रवेश पत्र जाँच गर्ने क्रममा शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको प्रारम्भिक सोधपुछ र अनुसन्धानका क्रममा बि.क.ले हेटौंडा-१२ पदमपोखरी बस्ने किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको परीक्षा दिन आएको स्वीकार गरेका प्रहरीले जनायो।
प्रवेश पत्रमा किर्ते गरी परीक्षा दिने बिराज र उनलाई परीक्षा दिन पठाउने श्रेष्ठ दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी शिक्षा ऐन र किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



