चैत्र २३, हेटौंडा। मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकहरू नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गतको सडक खण्डमा गरेको आकस्मिक चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सडक खण्डमा गुडिरहेका ६५ वटा सवारी साधनहरूलाई सुक्ष्म ढंगले जाँच गर्ने क्रममा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाइरहेको पुष्टि भएको थियो।
लागूऔषध सेवन गरेर सवारी चलाउँदा चालकको एकाग्रता गुम्ने र सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले प्रहरीले यस विशेष सुरक्षा अभियानलाई कडाइका साथ अघि बढाएको हो।
सडक सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले आगामी दिनमा पनि यस्ता आकस्मिक चेकजाँचलाई जिल्लाका विभिन्न स्थानमा व्यापक रूपमा निरन्तरता दिने बताएको छ।
साथै, सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्नका लागि लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन समेत प्रहरीले सम्पूर्ण चालकहरूलाई आग्रह गरेको छ।



