चैत्र २८, चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित गुरुङटोल पूर्व क्षेत्रमा किसानहरूलाई लक्षित गर्दै डिप बोरिङ निर्माण कार्य सुरु गरिएको छ।
वडा कार्यालयको विशेष सक्रियता र पहलमा अघि बढाइएको यस योजनाले स्थानीय क्षेत्रमा सिँचाइ सुविधाको विस्तार गर्दै कृषि उत्पादनमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

लामो समयदेखि पानीको अभावका कारण खेतीपाती गर्न र उचित फसल भित्र्याउन कठिनाइ भोग्दै आएका किसानहरूलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको वडाध्यक्ष सहदेव केसीले बताए।
परियोजनाका बारेमा जानकारी दिँदै वडा अध्यक्ष केसीले पानीको समस्याले कृषकहरूले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै डिप बोरिङको काम थालिएको बताए।
उनले यो परियोजना सम्पन्न भएपछि कृषि उत्पादनमा वृद्धि हुने, किसानहरूको आम्दानी बढ्ने र अन्ततः उनीहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सुरु गरेको यो निर्माण कार्यले वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने सुनिश्चितता प्रदान गरेको छ।
उक्त डिप बोरिङ निर्माणबाट चन्द्रपुर–६ का किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने कृषि क्षेत्रको आधुनिकीकरणमा समेत यसले ठूलो टेवा पुर्याउने देखिएको छ।
“समृद्ध किसान, समृद्ध गाउँ” भन्ने मूल नारालाई व्यवहारमा उतार्न यो योजना एक महत्त्वपूर्ण कदम सावित हुने अध्यक्ष केसीको भनाई छ।
सिँचाइको उचित प्रबन्ध भएपछि अबका दिनमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्ने र किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुने विश्वास गरिएको छ।



