चैत्र ३०, निजगढ। दुबै मृगौला फेल भएर जीवन र मरणको दोसाँधमा रहेकी बाराको निजगढ नगरपालिका–२ सिंगौलकी २१ वर्षीया ईशा बिकको जीवन बचाउन यतिबेला सहयोगी हातहरू जुर्मुराएका छन्।

आर्थिक अभावका कारण उपचार नपाएर छटपटाइरहेकी ईशाको सहयोगका लागि सञ्चारकर्मी शान्त सापकोटाले सामाजिक सञ्जालमार्फत सुरु गरेको अभियानले २४ दिनमा उल्लेख्य सफलता प्राप्त गरेको छ।

​गत मार्च १९ देखि सुरु भएको ‘ईशा बचाऔँ’ अभियानअन्तर्गत आज अप्रिल १३ सम्ममा कुल ३ लाख ४ हजार ७५६ रुपैयाँ संकलन भएको छ।

यो अभियानमा कुनै एउटा क्षेत्र मात्र नभई कलाकार, पत्रकार, अभियन्ता, कर्मचारी,शिक्षक ,विद्यार्थी लगायत समाजका हरेक तप्काका व्यक्तिहरूले देश- परदेशबाट स्वस्फूर्त रूपमा सहयोग गरिरहेका छन्।

​”एउटी कलिलो उमेरकी छोरीलाई बचाउन समाजका हरेक क्षेत्रबाट आएको यो साथले हामीलाई थप उत्साहित बनाएको छ,” अभियानकर्ता सापकोटाले बताए।

​चिकित्सकहरूका अनुसार ईशाको जीवन बचाउन मृगौला प्रत्यारोपण अनिवार्य छ। उनलाई नयाँ जीवन दिन आफ्नि  आमा सुन्दरी परियारले एउटा मृगौला दान गर्ने साहसपूर्ण निर्णय गरिसकेकी छिन्।

राज्यले मृगौला प्रत्यारोपणमा केही सहुलियत दिए पनि अन्य उपचार र औषधि खर्चका लागि थप ६ देखि ७ लाख रुपैयाँ व्यक्तिगत रूपमा जुटाउनुपर्ने चुनौती परिवारसामु छ।

त्यसैले पनि “ईशा बिक बचाऔँ अभियान” अझै जारी राखिएको छ। सोही अनुसार सहयोग रकम पनि आउने क्रम जारी नै छ।

आफ्नै समुदायप्रति बुवाको गुनासो

​छोरीको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहँदा ईशाका बुवा टेकबहादुर बिकले भने एउटा गम्भीर र भावुक गुनासो पोखेका छन्।

समाजका सबै वर्गले हात फैलाउँदा पनि आफ्नै समुदाय (दलित) बाट भने अपवाद बाहेक उल्लेख्य सहयोग नपाएकोमा उनले दुःख व्यक्त गरे।

उनले भने, “सबैले दया देखाए, तर आफ्नै भन्नेहरूबाट खोजेको बेला साथ पाउन गाह्रो भयो।”

ईशाको उपचारका लागि भनेर दलित समुदायबाट अहिलेसम्म निजगढ-७ का बिजय सुनारले मात्र सहयोग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय