बैशाख १३,निजगढ। समयको अन्तरालले मानिसका स्मृतिहरू धमिलो बनाइदिन सक्छ, तर रगतको नाता र बाबु-आमाको आश कहिल्यै नमर्ने रहेछ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का टेकनाथ भट्टराईको परिवारका लागि आजको दिन कुनै उत्सवभन्दा कम रहेन।

२५ वर्षअघि काठमाडौंबाट हराएकी उनकी जेठी छोरी ३५ वर्षीया गंगा भट्टराई आज आफ्नै घरको आँगनमा आइपुग्दा निजगढवासीले हर्षका आँसुले उनलाई स्वागत गरे।
घटना २५ वर्षअघिको हो। करिब ९ वर्षको उमेरमा राम्रो शिक्षादीक्षा पाउने आशमा छिमेकीमार्फत गंगालाई काठमाडौंको चाबहिलस्थित ध्रुव लम्सालको घरमा पठाइएको थियो।
तर, एकदिन बगैँचामा फूल टिप्न निस्केकी गंगा एक्कासि बेपत्ता भइन्। छोरी हराएको खबर पाएपछि टेकनाथले धेरै ठाउँमा खोजतलास गरे, ढोका ढक्ढक्याए। तर, समय बित्दै जाँदा कतैबाट केही पत्तो नलागेपछि परिवारले “माया मारेर” मन बुझाउन बाध्य भएको थियो।
आफ्नो विगत र परिवारबारे खासै केही थाहा नभएकी गंगाले आफू सानैमा हराएको र आफ्नो ठेगाना खोजिदिन अभियन्ता अर्जुन भुषालसँग आग्रह गरेकी थिइन्।
भुषालले सामाजिक सञ्जालमा गंगाको विवरणसहित आह्वान गरेपछि निजगढका स्थानीयहरूले उनलाई चिनेका थिए। “उनी त हाम्रै निजगढकी छोरी हुन्” भन्दै आएका कमेन्ट र सूचनाले अन्ततः यो असम्भव देखिने मिलनलाई सम्भव बनायो।
आज अभियन्ता भुषालले गंगालाई निजगढस्थित उनको घरमा ल्याइपुर्याउँदा माहोल निकै भावुक बनेको थियो।
२५ वर्षपछि आफ्नी छोरीलाई घरको सँघारमा देख्दा बुवा टेकनाथ, आमा र बहिनी मात्र होइन, सयौँको संख्यामा उपस्थित छिमेकीहरूसमेत हर्षले विभोर भए।
गंगाले ५/६ वर्षको उमेरमा देखेका बाल्यकालका केही धुमिल यादहरू सुनाउँदा परिवारमा खुसीको सीमा रहेन।
यद्यपि, लामो समयको अन्तरालका कारण उनले भावुक हुँदै भनिन्, “बुवाको अनुहार चाहिँ हो कि जस्तो लाग्यो, अरू त धेरै याद नै छैन।”
गंगा र भट्टराई परिवारको यो पुनर्मिलनले हराएकाहरू कहिल्यै नभेटिने होइनन् भन्ने एउटा आशा जगाइदिएको छ।
हराएकी छोरी घर फर्किँदा आज निजगढ-७ मा मात्र होइन, सामाजिक सञ्जालमा यो समाचार सुन्ने पढ्ने सबैको मन खुसीले गदगद भएको हुनुपर्छ ।




