असार ८, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय सानो पोखराबाट खटिएको विशेष टोलीले हेटौंडा बजार क्षेत्रमा लागूऔषधविरुद्ध व्यापक ‘स्वीप अपरेशन’ सञ्चालन गरी अवैध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

हेटौंडा बजारका विभिन्न स्थानमा लागूऔषधको बिक्री वितरण र कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गत असार ६ गते दिनभरि सक्रियता बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

​अपरेशनको क्रममा दिउँसो करिब १ बजे हेटौंडा उपमहानगरपालिका-४ स्थित नारायणी मल नजिकको भित्री गल्लीबाट हेटौंडा-१ पानसुके चोकमा डेरा गरी बस्ने १८ वर्षीय अशोक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट ५२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ९ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको छ।

​यसैगरी, सोही दिन दिउँसो १:४० बजे हेटौंडा-४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँको कोठाबाट १२ ग्राम ३८० मिलिग्राम खैरो हिरोइन र १२ हजार ६ सय रुपैयाँ नगद बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको छ।

अपरेशनलाई निरन्तरता दिँदै बेलुका ७ बजे हेटौंडा-५ पिप्लेमा डेरा गरी बस्ने २४ वर्षीया अञ्जली तामाङ भन्ने क्रान्ती देवी घलानलाई ५ ग्राम १७० मिलिग्राम लागूऔषध र ४ हजार ५ सय रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ।

​पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साथै, यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्यलाई समेत प्रहरीले तीव्रता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय