असार १२,हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३, मराङचोक बस्ने अन्दाजी ६० वर्षीय चन्द्रबहादुर मोक्तान रहेका छन्।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, घटना गएराति १० बजेको समयमा भएको हो।
भीमफेदी गाउँपालिका–६, विद्युत प्रथम फेज नजिक रहेको भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार, मृतक मोक्तान आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए।
उनी मादक पदार्थ सेवन गरी हिँड्डुल गर्ने गरेको स्थानीयले बताएका छन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगी शवको मुचुल्का उठाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।



