असार १९, हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४, मयुरधापका २६ वर्षीय सुदिप भट्टराईको शंकास्पद मृत्यु भएको छ।
सुकुदेव भट्टराई र कोपिला भट्टराईका एक्ला छोरा सुदिपको मृत्युलाई लिएर अहिले स्थानीयस्तरमा बहस र आशंका उत्पन्न भएको छ।
प्रहरीका अनुसार सुदिप लागूऔषध दूर्व्यसनी भई केही समयअघि मात्र सुधार केन्द्रबाट फर्किएका थिए। आज (शुक्रबार) बिहान करिब ५ बजे उनले घरमा आफ्ना बुबा-आमामाथि कुटपिट गरेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएपछी सुदिपले झन अराजक व्यवहार देखाएपछी उनलाई उपचारार्थ हेटौंडा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज काफ्ले बताउँछन्।
”उनले आफ्नै लुगा च्यात्ने, त्यही लुगाले घाँटी कस्ने प्रयास गर्ने र वरिपरि रहेका व्यक्तिहरूमाथि थुक्ने जस्ता हर्कत गरे,” डिएसपी काफ्लेले भने, “त्यसपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भयो।”
यता स्थानिय केही युवाहरुले भने सुदिपको हिरासतमा कुटपिटका कारण मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गर्छ्न्।
एक स्थानीयले सुदिपको मृत्यु प्रहरी हिरासतमा भएको कुटपिटका कारण भएको हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्।
परिवारलाई प्रभावमा पारेर घटनालाई गुपचुप राख्न खोजिएको उनको आरोप छ।
हाल शवको पोष्टमार्टम भइसकेको छ र परिवारले अन्त्येष्टिका लागि शव बुझिसकेका छन्।
प्रहरी प्रवक्ता काफ्लेले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण खुल्ने बताएका छन्।
रिपोर्टले मृत्युको वास्तविक कारण र परिस्थिति स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अहिले उक्त क्षेत्रमा घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने निष्पक्ष छानबिनको माग समेत उठिरहेको छ।



