कार्तिक १७, काठमाण्डौ। घरेलु मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ। यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो।
यो सँगै नेपाल १० वर्षपछि विश्वकपमा छनोट भएको हो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको पहिलो विश्वकप थियो।
यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन्। एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ। आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो। नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो।



