कार्तिक २५,हेटौंडा। पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता–२०७९ को आय व्यय सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि फागुन १० गतेसम्म संचालन भएको प्रतियोगिताको आय व्यय आज शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष टीकाराम लामाले प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएकोमा एक करोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । प्रतियोगिताका लागी प्रदेश खेलकुद विकास समितिबाट ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकटबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार रुपैयाँ तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टबाट ६ लाख ९० हजार रुपैयाँ प्राप्त भएको लामाले बताए ।हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक तथा खेलाडीको टीएडीए र यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको अध्यक्ष लामाले बताए ।



