मंसिर ५,काठमाडौं। सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज मंगलबार यमनको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि नेपाल तयार रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताए।
नेपाली टोलीका कप्तान किरण लिम्बूले यमनसँगको खेलका लागि सबै खेलाडी मनोवैज्ञानिक रुपमा तयार रहेको बताएका छन्। ‘हामीले संयुक्त अरब इमरेट्स (यूएई) सँगको खेललाई दिमागमा राखेका छैनौं। हामीले त्यो खेल बिर्सिसकेका छौं’, कप्तान किरणले भने, ‘नेपाल फर्किएपछि धेरै राम्रो तयारी गरेका छौं। खेलाडीहरू मनोवैज्ञानिक रुपमा तयार छन्। घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित पनि छन्।’
उनले यमनविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको बताउँदै जित्नैपर्ने दबाब पनि रहेको बताए। ‘हामी अर्को चरणमा पुग्नका लागि यमनसँगको खेल एकदमै महत्वपूर्ण छ। जसरी पनि जित्नैपर्ने दबाब हामीमा छ’, किरणले भने, ‘दबाबमा हामीले उत्कृष्ट खेल खेलेको इतिहास छ। मंगलबारको खेल पनि उत्कृष्ट हुनेमा विश्वस्त छु।’
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।



