पुस२१, निजगढ । बाराको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले ग्रामिण क्षेत्रका सहकारीहरुमा बचत गर्न डराउन नपर्ने बताएका छन्।
मेयर पुरीले शुक्रबार निजगढमा आयोजित सेवाशुभारम्भ बचत तथा ॠण सहकारी संस्थाको १३औँ साधारणसभालाई सम्बोधन गर्दै शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका सहकारीमा बचत सुरक्षीत हुने बताएका हुन्।

`गाँउमा सहकारीका संचालक,कर्मचारी तथा बचतकर्ताबिच एकाअपसमा राम्रो चिनजान हुन्छ,सबैलाई सबैको बारेमा था हुन्छ,बचत रकम लिएर भाग्ने आँट गर्दैनन्।´उनले भने।`शहरीक्षेत्रमा भने संचालक,कर्मचारी बचतकर्तासँग कुनै किसिमको चिनजान हुँदैन, बैंकभन्दा ठूल्ठूला अफिस खोलेर बसेका हुन्छन् , अनि अफिसमात्र देखेको भरमा बचत गर्न बाध्य भएकाहरु कतिखेर ठगिन्छ्न् पत्तै हुँदैन।´
उनले सहकारीहरु बचत गर्ने र ॠण दिने तथा आफुले कसरी बढी नाफा कमाउने संस्थाको रुपमा मात्र अघि बढेको आरोप लगाए।
देशको तीनखम्बे अर्थ नीति जस्तै निजगढको पनि ३ खम्बे अर्थ नीतिमध्ये सहकारी एक भएको उल्लेख गर्दै निजगढमा संचालित बचत तथा ॠण सहकारीहरुले आफ्नो पुँजिको थोरै रकम छुट्टयाएर कोष खडा गरि उपयुक्त क्षेत्रमा लगानी गर्न सके रोजगारीको अवसर प्राप्त हुने धारणा राखे।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, द्रुतमार्ग र पूर्वपश्चिम तथा उत्तरदक्षीण रेलमार्गको `जक्सन´ गरि ३ ओटा राष्ट्रिय गौरवको आयोजनाको संगमस्थल हुनेहुँदा सहकारीलाई स्थानिय उत्पादन र बजारीकरणमा सहभागी गराउन सके समग्र निजगढको आर्थिक उन्नति र रोजगारी वृद्धि हुनेमा मेयर पुरीको जोड थियो।
शहरीकरण बढ्नु भनेको महंगी बढ्नु हो, महंगिलाई झेलेर बस्न आयआर्जन वृद्धि हुन जरुरी छ,त्यस्का लागि यहाँ स्थापित सहकारीहरुको अहम भूमिका हुने र सोका लागि निजगढ नगरपालिकाले पनि साथ दिने उल्लेख गरे।
नत्र भने निजगढ राम्रो ठाउँ हुँदाहुँदै पनि आर्थिक दूरावस्थाकै कारण मानिसहरु विस्थापित हुने अवस्था आउने उनको भनाई थियो।




