पुस२१,हेटौंडा। सञ्चालकको मनोमानीले ठूलो रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग सरकारले पाउनु पर्ने रकमको विवरण मागेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पुस १८ गते एक सुचना जारी गर्दै ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन अनलाइनमार्फत सप्रमाण बुझाउनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ।
बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो। आफूलाई प्रहरीले खोजी सुरु गरेको थाहा पाएपछि शर्मा भारतमा लुकीछिपी बस्दै आएका थिए।
शिव शिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए। दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको खुलेको थियो।काठमाडौं जिल्ला अदालतको आदेशमा उनी हाल पुर्पक्षका लागि थुनामा छन्।
उक्त सहकारीका पदाधिकारीले देशभरका ३६ वटा शाखा कार्यालयबाट १ लाख ६८ हजार ७ सय २५ जना सदस्यको करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सीआइबीको निष्कर्ष छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको गत भदौ २५ को निर्णयानुसार शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी आएको समितिको सूचनामा उल्लेख छ। सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुले आफूले पाउनुपर्ने रकमको मागदाबी समितिको वेबसाइट www.coopmc.gov.np मा सप्रमाण पेस गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय