पुस२५,हेटौंडा। तपश्वी रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैँयासहित विदेशी मुद्रा पनि फेला परेको छ।
बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गन्दा तीन करोड तीन लाख ७५ हजार ५सय पुगेको ब्युरो प्रमुख किरण ब्रजाचार्यले जानकारी दिईन् । विभिन्न १७ देशका विदेशी मुद्रा आजको दरमा रुपान्तरण गर्दा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ हुन आएको उनले बताईन् ।

बमजनको घरबाट बरामद नगद।
उनको साथबाट १४ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको ब्रजाचार्यले बताईन। तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएको आरोपमा बमजनलाई मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट सिआईबीका टोलीले पक्राउ गरेको थियो ।
उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको तथा एकजनालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ ।



